
मधेश एशोसिएसन इन अमेरिका (माँ) को चौथो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले नेपाल किन अमेरिका जस्तो बन्न सकेन भन्ने प्रश्न उठाएका छन् ।
उनले अमेरिकालगायत देशमा बसोबास गर्ने नेपालीबिच नेपालको भविष्यप्रति उठ्ने चिन्ता र जिज्ञासालाई गम्भीरसाथ लिनुपर्ने बताए ।
‘अमेरिकाजस्तो नेपाल कहिले बन्छ ? नेपालीको एक नम्बरको प्रश्न यही हो,’ अध्यक्ष महतोले भने, ‘तर त्यसको उत्तर खोज्ने काम कसैले गर्दैन । अब हामी सबैले यसको जवाफ खोज्नुपर्छ ।’
अध्यक्ष महतोका अनुसार नेपालको प्राकृतिक स्रोत र सम्भावनाहरू अपार छन् तर त्यसको समुचित उपयोग हुन नसक्नु नै पछौटेपनको मुख्य कारण हो । ‘नेपालमा रहेको जलविद्युत्, पर्यटन र प्राकृतिक सुन्दरता यदि सही तरिकाले विकास गरियो भने नेपाल विश्वकै सम्पन्न मुलुक बन्न सक्छ,’ महतोले भने, ‘तर इच्छा शक्ति चाहिन्छ, जुन अहिलेसम्म देखिएको छैन ।’
उनले संविधान र शासकीय संरचनाको अस्थिरता नेपाल विकासमा पछाडि पर्नुको अर्को मुख्य कारण भएको बताए । ७० वर्षमा १० वटा संविधान बनेको तर एउटा पनि साझा संविधान बन्न नसकेको उनले जिकिर गरे । उनले गणतन्त्र र संघीयताको नाममा पनि नेपाल अझै एकल मानसिकतामा सञ्चालित रहेको टिप्पणी गरे ।
अध्यक्ष महतोले साझा राष्ट्र निर्माणको अवधारणा अगाडि सार्दै राणा र राजाका पालाजस्तै अहिले पनि एकल सोच हाबी रहेको बताए । साझा नेपाल बनाउने सोच अझै विकास नभएको बताए ।
उनले विकासका लागि अन्तर्राष्ट्रिय साझेदारीको खाँचो औँल्याउँदै भने, ‘कुन देशसँग विकास साझेदारी गर्ने भन्नेबारे नेपालले सोच्नुपर्ने वेला आएको छ । विश्वमा थुप्रै देश नेपालभन्दा बढी गरिब थिए, तर आज ती समृद्ध बने । हामीले उनीहरूको बाटो अध्ययन गर्नुपर्छ ।’
महतोले विदेशमा बस्ने नेपाली समुदायको भूमिकालाई पनि महत्व दिएका छन् । ‘नेपाल बनाउन तपाईं हामी सबैले सोच्नुपर्छ,’ उनले अमेरिकालगायत मुलुकमा रहेका नेपालीलाई देशको विकासमा योगदान गर्न आह्वान गरे ।
सम्मेलनमा मधेशका विविध विषयमा छलफल भए पनि अध्यक्ष महतोको सम्बोधनले नेपाल समृद्धि र साझापनको बहसमा नयाँ धार सिर्जना गरेको विश्लेषण गरिएको छ । सम्मेलनमा सहभागीहरूका अनुसार अध्यक्ष महतोको सम्बोधनले मधेश मात्र नभई सम्पूर्ण नेपाली समाजमा गहिरो प्रश्न उठाएको छ