• स्वदेशवाद
  • बहुलराष्ट्रवाद
  • सामुदायिक समाजवाद

राष्ट्रिय मुक्ति पार्टी नेपाल

National Liberation Party Nepal

सदस्यता-फारम
Donation

  • त्यो मुकुम्लुङ–यात्रा केवल एक घटना होइन, इतिहासको पृष्ठभूमिमा अंकित हुने संघर्ष–गाथा हो
  • युमा–माङले पवित्र भूमिमा बोलाएको आभासपछि मैले मुकुम्लुङ यात्रा गरें, म आध्यात्मिक मानिस हुा– देवीको आशीर्वाद लिन पुगें

मुकुम्लुङमा राज्यले ०८१ माघ १२ मा केबुलकारविरोधी आन्दोलनमा गोली चलायो । तीन जना आन्दोलनकारी घाइते भए । ती घाइतेलाई काठमाडौं ल्याइयो र भोलिपल्ट त्रिवि शिक्षण अस्पतालमा भेट्न जाँदा मेरो मन मधेश आन्दोलनका ती बर्बर घटनाहरूमा पुग्यो ।

संविधान निर्माणका नाममा मधेशीहरूमाथि गोली चलाइएको त्यो कालो समय सम्झिएँ । आज फेरि लिम्बुवानका सपुतमाथि दमन भइरहेको देख्दा मनमा एउटै प्रश्न उठ्यो– ‘आफ्नै भूमिको रक्षाका लागि लड्नुपरेका लिम्बूहरूमाथि गोली किन ? राज्यले सधैं दमनको बाटो किन अपनाउँछ ?’ यही प्रश्नको उत्तर खोज्न ‘ग्राउन्ड जिरो’ जान खोजिरहेकै थिएँ । त्यहीबखत संघर्ष समितिले फागुन ६ देखि ८ सम्म पदयात्राको निर्णय गर्‍यो । मैले यात्रा गर्ने संकल्प गरें ।

मुकुम्लुङ यात्रा गर्ने इच्छा केवल राजनीतिक होइन, आध्यात्मिक थियो । युमा–माङ (लिम्बूहरूकी देवी) ले मलाई आफ्नो पवित्र भूमिमा बोलाइरहेको आभास भयो । साथै म आफैं आध्यात्मिक मानिस भएकाले देवीको आशीर्वाद लिन मुकुम्लुङ पुगें ।

फाक्ताङलुङ (कुम्भकर्ण हिमाल) काखमा रहेको यो स्थान केवल भौगोलिक नभई लिम्बूहरूको अस्मिता, आस्था र संघर्षको प्रतीक हो । मुकुम्लुङमा युमा–माङले फुरफुर उडिरहेको हिउँमार्फत हाम्रो स्वागत गरिन् भने राज्यले हामीलाई आतंकित बनाएर फर्काउन खोज्यो । तर, यसले हाम्रो मधेश–पहाड जोड्न नसकेको अधुरो क्रान्ति पूरा गर्ने बाटोचाहिँ खोलेको छ । र, राष्ट्रिय मुक्ति क्रान्तिको आवश्यकता–औचित्य अझै महसुस गराएको छ ।

म नाढीमन, सर्लाहीमा जन्मिएको मधेशी हुँ । मधेश राजनीतिमा क्रियाशील हुँदै, १५०–२५० मिटर समुद्री सतहमा हुर्किएको मान्छे मलाई मुकुम्लुङको लगभग ४ हजार मिटर उचाइको यात्रामा जानु चुनौतीपूर्ण थियो । लामो समयदेखि पर्यटन र आर्थिक विकासका नाममा मुन्धुमी आस्थाको केन्द्रमाथि प्रहार गर्ने र केबुलकारका नाममा दोहन गर्ने कामविरुद्ध भइरहेको संघर्षमा हामीले साथमा साथ–काँधमा काँध दिने अठोटसाथ मुकुम्लुङ यात्रा शुभारम्भ गर्‍यौं ।

मुन्धुमी ट्रेल

मधेशी संस्कृति र समथर भूभागमा हुर्केको हुँ म । विराटनगरबाट धरान हुँदै तमोर करिडोरको कच्ची बाटो र कतै–कतै धुलाम्य सडकमा हुइँकिँदै पहिलो दिन (फागुन ७) फुङलिङ सदरमुकाम पुग्न कठिन भयो । मुकुम्लुङ केबुलकार खारेजी संघर्ष समितिका अध्यक्ष खगेन्द्र फेम्बोको स्नो लियोपार्ड होटलमा त्यस दिन बास बस्यौं । भोलिपल्ट फुङलिङदेखि गाडीमै बिहान काफ्लेपाटी पुग्यौं, जहाँ सयौं युवा स्वागतका लागि तयारी अवस्थामा थिए । हात–हातमा टेकोस्वरूप लट्ठी बोक्यौं र प्रारम्भ भयो– मुन्धुमी ट्रेल ।

काफ्ले पाटीबाट सुरु यो यात्राको पहिलो बिसौनी थियो– ठूलो फेदी, जहाँ सयौं जनताले माटो आ–आफ्ना हातमा उठाए र कसम खाए । राम मादेनले हामीलाई शपथ गराए, ‘मुकुम्लुङलाई बचाउनेछौं, युमा–माङले हेरेकी छन् ।’ मैले पनि हिउँमिश्रित एक मुट्ठी माटो हातमा लिँदै तीन पटक कसम खाएँ– मुकुम्लुङ बचाउने । कान्छी थानमा पूजा र श्रद्धाभाव प्रकट गर्दै युमा–माङको आशीर्वाद लिन हाम्रो एक टोली मुकुम्लुङ यात्रामा उकालो लाग्यो भने अर्को टोली युमा–माङलाई दु:ख दिने अनि मुकुम्लुङ दोहन गर्नेलाई खबरदारी गर्न केबुलकार सबस्टेसन निर्माण स्थलतिर लाग्यो ।

यात्रा उद्देश्यपरक बनाउन यात्राभरि उपवास रहने प्रण गरेको थिएँ । त्यसैले खाना नखाई दर्शनका लागि स्थानमै पुग्ने अठोटले हिँडिरहेको थिएँ । भर्खरै परेको हिउँ र ४ हजार मिटर उचाइमा पहिलो पटक हिँड्दाको अप्ठेराले यात्रा अत्यन्तै धिमा गतिमा अघि बढिरहेको थियो । हिउँले भरिएका सिँढी, उकालो लाग्दै गरेका धार्मिक यात्री र दर्शन गरी फर्किएका यात्रुको ताँतीले यात्रा सुन्दर भइरहेको थियो । पहाडी यात्रा कठिन भए पनि सायद युमा–माङको शक्तिले हो, मलाई लाग्यो– हिमशृंखलाको काखमा सजिलै अघि बढ्नेछु ।

मुकुम्लुङमा रहेको युमा–माङ पुग्दा यात्राको सारा थकान गायब भएको थियो, मन चंगा । त्यहाँ हामीले यवा शाम्बा र थेवाहरू साक्षी राखी दोहनकारीबाट मुकुम्लुङमाथि भइरहेको अतिक्रमणको क्षमापूजा आयोजना गर्‍यौं । योबीच हाम्रा साथीहरूले प्रहरीसँग बहादुरीपूर्ण संघर्ष गरेर दोहनकारीलाई पछाडि हटाएको खबरले हामी उत्साहित थियौं । तर, फर्किंदा देख्यौं– केबुलकार पक्ष (सरकारी पक्ष) ले षड्यन्त्र गरे । बाटोमा चक्काजाम गरी स्थानीय केबुलकार पक्षधर गुन्डागर्दीका निम्ति तैनाथ थिए । माहोल असहज हुँदै थियो । त्यसपश्चात् मुन्धुमी ट्रेलको दोस्रो अध्याय सुरु भयो ।

हामी काफ्लेपाटीको थापा होटलमा एकछिन आराम गर्ने र फुङलिङसम्म पुग्ने सहज वातावरणको प्रतीक्षामा थियौं । रात ढल्दो थियो, त्यहीं बस्ने निर्णय भयो । त्यो होटलमा भिजिलान्ते (राज्यपक्षीय गुन्डा) तथा प्रशासनसमेतले होटल मालिकलाई डर, धम्की र त्रास देखाए । होटल वरपर प्रशासनको संरक्षणमा स्थानीय गुन्डा खुकुरी बोकेर ढोकामा लात्ती हान्न आए र खाना–पानी बन्द गराए । सायद मेरो व्यक्तिगत सुरक्षाकर्मी नभएको भए, हामीमाथि सिधै प्रहार हुने थियो । रातैभरि तनावको स्थिति भयो । यो माहोल भोलिपल्ट फागुन ९ को दिनको १२ बजेसम्मै देखियो । बाहिर निस्कने स्थिति थिएन ।

Snow fires in Mukumlung

पछि ठूलो फेदी र बल्लु डाँडामा सेल्टर लिएका आन्दोलनकारीलाई काफ्लेपाटी झर्न लगायौं । हामी हिम्मत गरेर होटलबाहिर निस्कँदा झडपको स्थिति विद्यमान थियो । प्रहरी प्रशासन ‘के निहुँ पाउँ’ को ताकमा थिएजस्तो आभास भयो । माहोल भड्किन नपाओस् भनेर हामी ठूलोफेदी कान्छीथानतिर लाग्यौं । अत्यधिक हावाहुरी र हिउँवर्षा भइरहेको थियो । प्रायोजित यातायात बन्द गरिएकाले हाम्रा सहयोद्धा पनि त्यही भयौं । अर्को दिन बिहान हिउँका डल्ला खेल्दै बल्लु डाँडा झरेर आन्दोलनकारी नेताबीच बैठक बस्यौं र केही निर्णय भयो ।

फागुन १० मा सामूहिक पदयात्रामा फुङलिङ जाने र त्यहाँबाट छुटिने निर्णयबमोजिम दिउँसो १ बजे यात्रा प्रारम्भ भयो । सयौं मुक्कुम्लुङ संरक्षणकारी लगभग साँझ ६ बजे फुङलिङ पुग्यौं । ८–१० जना महिला बाटोमा कालो झन्डा बोकी उभिएका थिए । सायद आन्दोलनकारीलाई कालो झन्डा देखाइएको यो पहिलो घटना होला । केही ‘भिजिलान्ते’ मसँग भेट गर्ने निहुँ बनाएर आए । क्षणभरमै नजिकैको वीरेन्द्र चोकमा शान्तिपूर्वक मोबाइल–टर्च र मसाल जलाएका आन्दोलनकारीउपर घरपक्कड र लाठी चार्ज गरियो र घाइते बनाइयो । हामी बसेको होटल स्नो लियोपार्ड अघि नै हस्पिटल थियो, त्यहाँ पनि लाठीचार्ज हुँदै थियो ।

होटलमा राज्यपक्षको आतंक प्रदर्शन भयो– सीसीटीभी, हामीले प्रयोग गाडीको लाइट र सिसा फुटाइयो । सिभिल ड्रेसका प्रहरीको बीचबाटै विभिन्न घरमा राँको फ्याँकियो, ढुंगामुढा गरियो । मसाल जुलुसका सहभागीले सुनाए– बाल्टिनमा पानी र त्यसमै ढुंगासमेत बोकी आन्दोलन तनावपूर्ण बनाइयो । प्रदर्शनकारी बास बसेको घरमा दर्जनौं अश्रुग्यास हानियो, निर्मम कुटपिट गरियो । चन्द्र मादेनको घरबाटै अश्रुग्यास हानेर बेहोस बनाई एक दर्जन बढीलाई गिरफ्तार गरियो । प्रहरी र भिजिलान्तेहरूले उग्र रूप धारण गरेका थिए । युमाको पवित्र भूमिमा यस्तो अत्याचार ?

प्रहरी प्रशासन हामीलाई बारम्बार फुङलिङ छाडी जान भनिरहेको थियो, जबकि बाटोमा आक्रमण गर्न गुन्डा परिचालन भएको सूचना पनि आइरहेको थियो । हामी राति १२ बजे जबर्जस्ती होटलबाट निस्क्यौं र थाहा छैन, कसरी ताप्लेजुङ–सिमाना पार गरियो ! उता पाँच बजे बिहानबाटै अनिश्चितकालीन निषेधाज्ञा जारी गर्दै बिहान ४ बजेसम्मै संघर्षमा लागेकाहरूको घर र लजहरूमा छापामार शैली अपनाई धरपक्कड मच्चाएकाले रणमैदानमा परिणत भएको रहेछ– फुङलिङ । के यस्तै लोकतन्त्र हामीले ल्याएको हौं ?

लिम्बुवान विद्रोह

गोर्खालीले वि.सं. १८३० चैतबाट सुरु गरेको लिम्बुवानसँगको युद्ध आज पनि जारी रहेको भन्न सकिन्छ । गोर्खालीले पाँच महिनासम्म लडेर जित्न नसक्ने निष्कर्षपश्चात् १८३१ साउनमा सन्धि भएको हो । त्यसबखत हार अस्वीकार गर्ने ६ थरी याक्थुमहरू सुखिम पुगे र आफ्नो भूमिका लागि पटक–पटक विद्रोह गरिरहे ।

त्यसपछि पनि लिम्बूहरूले अनेकन् विद्रोह गरिरहे, जुन इतिहासका पानामा पढ्न पाइन्छ । ताप्लेजुङ र पाँचथरमै इ.सं. १९८८ मा लिम्बू भाषाका निम्ति संघर्षरत ४ कार्यकर्तालाई जेल सजाय भएको थियो । निरन्तर विद्रोहले लिम्बूलाई इस्पात बनाएको मैले पाएँ । अहिलेसम्म बुझ्न नचाहनेले अब बुझे हुन्छ– लिम्बूहरू इस्पात हुन्, जो टुट्दैनन्, झुक्दैनन् ।

राज्यले जति दमन गरे पनि हार मान्नेवाला जाति लिम्बू होइन भन्ने उपरोक्त संघर्षले प्रमाणित गरिसकेको छ । मुक्कुम्लुङ संघर्षले देशव्यापी ती समग्र आन्दोलनलाई नयाँ ध्रुवीकरण र २१ औं शताब्दीको सान्दर्भिकता अनुकूल लड्नुपर्ने परिस्थितिमा खडा गरेको छ । मुक्कुम्लुङमा भइरहेको आन्दोलन कुनै व्यक्ति, निश्चित व्यापारी या राजनीतिक दलविरुद्ध होइन । यो वि.सं. १८३१ मा गोर्खालीले सुनिश्चित गरेको याक्थुम राष्ट्रको सार्वभौमिकतामाथिको प्रहार र गोर्खाली औपनिवेशिकताविरुद्धको न्यायको लडाइँ हो ।

मुकुम्लुङको हिउँले मलाई चिसो दिएन, आगो दियो । त्यो आगो, जसले २ सय वर्षदेखि लिम्बूहरूको रगत तातो राखेको छ । मुकुम्लुङ–संघर्ष केबुलकार विरुद्ध होइन, गोर्खाली औपनिवेशिकताविरुद्ध लिम्बूहरूको २०० वर्षे संघर्ष हो ।

चोत्लुङ उठाउन मुकुम्लुङ–यात्रा

गोर्खालीले जित्न नसकेको याक्थुम भूमि (लिम्बुवान) मा गोर्खाली औपनिवेशिकता के जायज छ ? यो आजको मुख्य सवाल हो । गोर्खालीले सम्झौतामार्फत लिम्बुवान नेपालको सरहदमा गाभेको हो । त्यो भूमिचाहिँ आफ्नो मान्ने, तर याक्थुम राष्ट्रका जनतालाई सद्भाव भड्काउने शत्रु ठान्ने ? बदनियतपूर्वक फुङलिङमा राज्य प्रायोजित दंगामार्फत याक्थुम राष्ट्रको शिर गिराउने काम भएको छ । यो लिम्बूहरूको अस्मिताको शिर हो । युमा–माङले यहाँ आफ्नो थान बनाएकी हुन् । तर, आज राज्यले यसलाई ‘केबुलकार’ को नाममा बेच्न खोज्दै छ । लिम्बूहरू भन्दै छन्, ‘यदि हामीले मुकुम्लुङ बचाउन सकेनौं भने हामी आफ्नो इतिहास बचाउन सक्दैनौं ।’

मुन्धुमी आस्थाअनुसार, याक्थुमहरूको सबैभन्दा पवित्र तीर्थस्थल फाक्ताङलुङ हो र त्यहाँ पुग्न नसक्नेहरूले मुक्कुम्लुङमा गएर फाक्ताङलुङ सम्झे पुग्छ । मुक्कुम्लुङ याक्थुम लाजे (याक्थुम भूमि) को शिर हो । निश्चित उद्देश्यले निश्चित विधिविधान पुर्‍याएर सामूहिक रूपमा उँधौली वा उँभौलीको समयमा चोत्लुङ उठाउन मुकुम्लुङ जाने हो । यस पवित्र भूमिलाई पाथीभारा मान्नेहरूले पनि सिंगो डाँडो पाथीजस्तो देखिएर भनिएको रहेछ । त्यस अर्थमा पनि सिंगो डाँडा नै हिन्दुको आराध्य हो ।

जरा काटिएको समाज र समुदायको मौलिक जीवन र सपना हुँदैन । किनभने समाज र समुदायको जरा काटिएपछि आफ्नो सत्व मर्छ । समाज र समुदायको जीवन, सपना र सत्व हराएपछि त्यसको इतिहास, सभ्यता, संस्कार र संस्कृति चासोको विषय बन्दैन । यसले पर–शासन र पर–निर्भताको अवस्था ल्याउँछ । लिम्बूहरूका निम्ति मात्रै होइन यो देशै भत्काउने परियोजना हो । त्यसैले लिम्बूहरूको माग स्पष्ट छ– संस्कृति, सभ्यता र आस्थामाथि आक्रमण सह्य हुँदैन । आज त्यसै पवित्र भूमिमा राज्यले बन्दुक तेर्स्याएर, आतंक मच्चाएर विकृत बनाउने प्रयास गरिरहेको छ । याक्थुम राष्ट्रको सार्वभौमिकता स्वीकार गर्दै उनीहरूको आत्मनिर्णयको पूर्ण सम्मान गर्दै मुक्कुमलुङमा गतिविधि गर्न तयार नहुने राज्य कसरी लोकतान्त्रिक राज्य हुन सक्छ ?

चोत्लुङ उठाउन मुकुम्लुङको स्वायत्तता जरुरी छ । चोत्लुङ संस्कृति, संघर्ष र स्वतन्त्रताको अमर प्रतीक बनेको छ । यो चोत्लुङ उठाउने इतिहासको पहिलो पृष्ठ मात्रै हो । त्यसै यात्रामा गएका कारण हो सायद, काठमाडौं फर्केपछि राज्यले मेरो सुरक्षा खोस्यो । तर, म किञ्चित भयभीत छैन ।

मेरो मुकुम्लुङ–यात्रा केवल एक घटना होइन, इतिहासको पृष्ठभूमिमा अंकित हुने संघर्ष–गाथा हो ।

(लेखक राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष हुन्)

https://ekantipur.com/koseli/2025/04/05/snow-fires-in-mukumlung-40-21.html