
राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपाल र नेपाल जनमुक्ति पार्टी (केपी पालुङवा, सन्जुहाङ पालुङवा, एमएस थापा नेतृत्व रहेको) बिच कार्यगत एकता हुने भएकाे छ । दुवै दलबाट गठन भएको कार्यदलको आज बसेको बैठकले कार्यगत एकता गर्ने सहमति गरेको हो ।
यो कार्यगत एकता मोर्चाबन्दी हुँदै पार्टी एकतासम्मको लक्ष्यका साथ अघि बढेको बताइएको छ । कार्यदलको पहिलो बैठक अत्यन्तै सकारात्मक रूपमा सम्पन्न भएको राष्ट्रिय मुक्ति पार्टी नेपालका नेता सन्तोष मेहताले बताए ।
बैठकमा दुवै पार्टीका प्रतिनिधिहरूले आ–आफ्नो पार्टीको वर्तमान राजनीतिक धारा, सैद्धान्तिक दृष्टिकोण र आन्दोलनको अनुभवहरू प्रस्तुत गर्दै साझा एजेन्डा निर्माणका लागि सहकार्य आवश्यक रहेकोमा जोड दिएका छन् ।
कार्यदलमा राष्ट्रिय मुक्ति पार्टीको तर्फबाट बुद्धछिरिङ मोक्तान, सन्तोष मेहता र रविन्द्रकुमार श्रेष्ठ रहेका छन् भने नेपाल जनमुक्ति पार्टीको तर्फबाट बलदीप राई, पदम जवेगु र लासिम पालुङवा प्रतिनिधि सदस्य रहेका छन् ।
बैठकमा समावेशी, सङ्घीय र पहिचानमा आधारित लोकतान्त्रिक आन्दोलनलाई सशक्त बनाउने साझा दृष्टिकोणका साथ आगामी रणनीति तय गर्ने सहमति भएको बताइएको छ ।
दुवै पक्षले सैद्धान्तिक सहमति र साङ्गठनिक समन्वयको जगमा स्थायी राजनीतिक एकताको सम्भावना रहेको धारणा व्यक्त गरेका छन् । दुवै पार्टीका नेताहरूले आगामी बैठकहरूमा कार्यदिशा, कार्यक्रम र साङ्गठनिक संरचनाको एकरूपता मार्फत साझा मोर्चा वा पार्टी एकताको मार्गचित्र तय गर्ने तयारीमा रहेको बताएका छन् ।